माओबादीको आन्दोलन सुरु!
माग पूरा गर्न दिएको अल्टिमेटम आजदेखि सकिएपछि साँझ पौने ६ बजेबाट मसाल जुलुस निकालेर माओवादीले आन्दोलन थालिसकेको छ। अब दिनदिनै भोलि के हुने हो भनी बस्नुपर्ने भएको छ। आज कस्तो मसाल जुलुस हुँदो रहेछ हेरौँ न त भनी फोटो खिच्न गएको थिएँ। रत्नपार्कमा चारैतिरबाट मसाल बोकेर आएकाहरु भेला हुँदा त धुँवाले निस्सासिएर श्वास फेर्न गाह्रो भएर त्यहाँबाट छिट्टै फर्किहालेँ। जता हेरे पनि मसाल नै मसाल, आगो नै आगो। ट्राफिक व्यवस्था अस्तव्यस्त थियो। सडक पूरै माओवादीको कब्जामा थियो।
हामी चढेको बस त्रिपुरेश्वरबाट छिर्न दिएन। ट्राफिकले नै बार लगाएर गाडी जान नदिएको रहेछ। सुन्धाराको आकाशे पुलबाट हेर्दा त टुँडिखेल चारैतिर राँको रन्किएर उज्यालो भएको पो देख्छु त-

त्यहाँबाट अलि अगाडि हिँड्दा महाँकाल मन्दिरअगाडि यस्तो दृश्य देखियो। पुरानो बसपार्कबाट मजदुरहरुले, दरबारमार्गको महेन्द्र शालिकबाट विद्यार्थीहरुले, महावौद्धबाट गणतान्त्रिक मञ्चहरुले र बुद्धिजीवी तथा अन्यले महाँकाल मन्दिरबाट एकसाथ मसाल जुलुस निकालेका रहेछन्।


हातहातमा मसाल बोकेर चर्का नारा लगाउँदै थिए उनीहरु। चोकचोकमा सशस्त्र र आन्दोलनका बेला लगाउने लुगा लगाएका जनपद प्रहरीहरु प्रशस्त तैनाथ थिए।

वीर अस्पताल नजिकैको आकाशे पुलबाट देखिएका दुई दृश्य तल हेर्नुस्-



अनि यो चाहिँ आन्दोलनकारीलाई बाँड्न मसाल ‘लोड’ गरिएको गाडी रहेछ।
आकाशमा जुन र धर्तीमा मसाल।



रत्नपार्कमा रोड डिभाइडरमाथि उभिएर खिचेको फोटो।

आँखाले हेरेको ठाउँमा जति आगो नै आगो, मसालै मसाल रहेछ।

रत्नपार्कको आकाशे पुलमा उभिएर हेर्दा ज्वालामुखीको लाभा बगे जस्तो देखिन्थ्यो।

राँकोबाट निस्कने धुँवाले एकछिन त्यहाँ बस्दा मलाई उकुसमुकुस भयो। साथमा रुमाल र मास्क बोकेको थिइनँ। त्यसैले पनि गाह्रो भयो। आकाशे पुलमा चढेर मान्छेहरु तमाशा हेर्दै थिए। कोही कोही भने मोबाइलले खिच्दै थिए त्यो विशाल जुलुसको फोटो र भिडियो।

तमाशेहरुः साथमा आकाशको जुन र देखिएको उज्यालो तलको राँकोबाट।

टुँडिखेल अगाडि सबैले बोकेका मसाल यसरी फ्याँकेर पहिलो दिनको आन्दोलन सकाए उनीहरुले। माओवादीहरुले एक लाख जुलुसमा सहभागी भएको दावी गरेछन्। त्यो सही भए पनि नभए पनि जुलुस भने निकै ठूलो थियो। केन्द्रीय नेताहरु नै सहभागी भएको र शक्ति देखाउनु परेकोले पनि होला सहभागीहरु निकै धेरै थिए। राम्रो कुरा चाहिँ जुलुस शान्तिपूर्वक सकियो। कतै तनाव भएन। प्रहरीले ट्राफिक नियन्त्रण गरेर सघाए। आन्दोलनकारीहरुले संयमित भएर सघाए ।
माओबादीको घोषित आगामी कार्यक्रम अनुसार, १६ गते गाविस र नगरपालिका घेराउ गर्ने, सोही दिन जनसभा गरी स्थानीय निकायमा कुनै पनि काम गर्न नदिने, १८ र १९ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, २३ गते स्वायत्त गणराज्यहरु घोषणा गर्ने र २४ गते काठमाडौं उपत्यका नाकाबन्दी गर्ने छ उक्त दिन एयरपोर्ट समेत बन्द गरिने माओबादीले जनाएको छ । २६ र २७ गते लाखौं जनता लिएर सिंहदरवार घेराउ गरिने आन्दोलनको दोस्रो चरण समाप्त हुने माओबादीले जनाएको छ । कार्यक्रमहरु कडा छन ती सबै यस्तै शान्ती पूर्बक होस धैर्य अपनाउन ।






Comments